कलाकार, निर्देशक निर्माता एवं नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कालाई उनले निर्माण-निर्देशन गरेको चलचित्र काँडेतार का विषयमा धम्कीपूर्ण अभिव्यक्ति आएको प्रति नेपाल चलचित्र कलाकार संघले खेद व्यक्त गरेको छ ।
चलचित्र निर्माण जस्तो कला, संस्कृति, साहित्यलाई उजागर गरी समाज रुपान्तरण, सामाजिक सन्देश प्रवाहित गर्ने क्षेत्रमा यस किसिमको निरुत्साहित पार्ने एवं राष्ट्र, राष्ट्रियता का विषयमा केन्द्रित रहेर निर्माण गरिएको काँडेतार र यसका निर्माता/निर्देशक नवल खड्कालाई कुनै पनि क्षेत्रबाट यस किसिमको भौतिक रुपमा आक्रमण हुनसक्ने भनि आएको तुच्छ अभिव्यक्तिप्रति संघले ध्यानाकर्षण भएको बताएको छ । यसरी चलचित्रले बोक्ने कला, साहित्य, संस्कृतिका क्षेत्रमा निरुत्साहित पार्ने कुनै पनि दुखद अभिव्यक्तिप्रति सम्बन्धित निकायलाई पनि ध्यानाकर्षण गराउन चाहन्छौं संघको प्रेस विज्ञप्तिमा भनिएको छ ।
चलचित्र आफैमा सामाजिक रुपान्तरण गर्ने माध्यम हो । मूलतः चलचित्र राष्ट्र र राष्ट्रियतामा केन्द्रित छ र यसले आम नागरिकलाई राष्ट्रियता प्रति सजग गराउने एवं झकझकाउने काम गरेको छ न कि यसले कसैलाई भड्काउने, सामाजिक सद्भाव विगार्ने, जातिय द्वेश फैलाउने, आन्तरिक अन्तरदेशीय सम्बन्धलाई भड्काउने जस्ता काम कदापी गरेको छैन विज्ञप्तिमा उल्लेख छ ।
संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा अमुक व्यक्तिबाट खुल्ला चुनौती दिदै धम्कीपूर्ण अभिव्यक्ति दिनु, अमुक समूहबाट सामाजिक संजालमा खुल्ला चुनौती दिनु निन्दनिय रहेको हामीले ठहर गरेका छौ । यस किसिमको गतिविधि, प्रवृति कोहि कसैबाट नहोस् र सामाजिक सन्देशयूक्त चलचित्र निर्माणमा अवरोध कुनै पनि हालतमा नहोस् एवं आगामी दिनमा पनि चलचित्र निर्वाध रुपमा चल्ने वातावरण होस् भन्दै निन्दनिय कार्यको पुनः भत्र्सना गर्दछौ, भनिएको छ ।