स्थापना दिवसमा अन्तर्क्रिया कार्यक्रम गर्दै चलचित्र कलाकार संघ

  • June 29, 2024

काठमाडौं– नेपाल चलचित्र कलाकार संघको आइतवार बसेको बैठकले संघको ३५ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । उक्त बैठकले सदस्य कलाकारहरुको अभिलेखिकरण गर्ने पनि निर्णयसमेत गरेको छ ।

त्यसका लागि कलाकारहरुले आवेदन फारमसँग संलग्न गर्नुपर्ने कागजपत्रमा करार पत्र अथवा अनुहार र चलचित्रको नाम देखिने गरि लिएको स्कृनसट, नागरिकताको प्रतिलिपि, फोटो आदि समावेश गर्नु पर्ने छ ।

कलाकार संघले सदस्य कलाकारहरुको अभिलेख तयार पार्ने काममा अस्पष्टता तथा अपूर्ण देखिन आएकोले अभिलेखिकरणलाई चुस्त दुरुस्त बनाउनका लागि उपरोक्त तथ्यहरुसहित कागजपत्र संघमा उपलब्ध गराउन आग्रह गरेको छ ।

त्यसका लागि छ महिनाभित्र कागजपत्र इमेल मार्फत अथवा स्वयं उपस्थित भएर अभिलेखिकरणलाई पूर्णता दिन सबै सदस्यहरुलाई अनुरोध गर्ने संघको बैठकले निर्णय गरेको छ । संघका अध्यक्ष मोहन निरौलाद्वारा प्रेसित विज्ञप्तिमा संघले आफ्ना सबै तहका सदस्य कलाकारले अभिलेखिकरणमा चासो दिन अनुरोध गरिएको छ ।

छ महिनाको समयलाई मान्य अवधि मान्दै अभिलेखिकरण नगरे संघमा रहेको व्यक्तिगत विवरण सहितको फायलमा विधान अनुसारको प्रक्रिया नपुगेको देखिएमा विधानले तोकेको प्रकृया अनुसार हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

संघले आफ्नो ३५ औं स्थापना दिवस नेपाल चलचित्र कलाकार संघको स्थापना दिवस भदौ २३ गते स्काई ब्याङ्क्वेट, बग्गीखानामा आयोजना गर्दैछ, जहाँ ‘नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने छ ।

संघको स्थापना दिवसको उपलक्ष्यमा भदौ २४ गते बिहान मोटिभेसनल कक्षा तथा योगा कार्यक्रम गर्ने र त्यसका लागि प्रशिक्षकहरुलाई अनुरोध गर्ने निर्णय गरिएको संघका अध्यक्ष निरौलाद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।

Comments


© copyright 2026 & All right reserved to faan