अभिनेता विश्व बस्नेतको ७५ औं जन्मोत्सवमा कलाकार संघको शुभकामना र सम्मान

  • March 31, 2021

काठमाडौं– नेपाल चलचित्र कलाकार संघले मंगलबार एउटा ऐतिहासिक कार्य गरेको छ । नेपाली चलचित्रका जेष्ठ अभिनेता विश्व बस्नेतको ७५ औं जन्मोत्सव पारेर कलाकार संघले आज उहाँलाई उहाँकै निवासमा पुगेर तामपत्रसहित शुभकामना व्यक्त गरेको छ । मंगलबार चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको नेतृत्वमा गोदावरीस्थित अभिनेता बस्नेतको अहिलेको निवास गएको कलाकारहरुको एक समुहले उहाँलाई खादा लगाएर तामपत्रसहित सम्मान गरेको हो ।

‘दु:खमा मात्रै होइन, सुखमा पनि आफ्नो परिवारको खोजी गरि कम्तीमा ३० वर्षको चलचित्र यात्रा पुरा गर्ने वरिष्ठ चलचित्रकर्मीका सुख–दु:खमा घर–घर पुग्ने सोचको सुरुवात आज अभिनेता विश्व बस्नेतको ७५ औं वर्षको शुभजन्मोत्सवबाट सुरु गरिएको छ’, कलाकार संघका अध्यक्ष खड्काले भन्नु भएको छ ।

‘अभिनेताको रूपमा नेपाली चलचित्रमा अभिनय यात्रा प्रारम्भ गर्ने सबैभन्दा जेष्ठ अभिनेता उहाँ नै हुनुहुन्छ, अध्यक्ष खड्का भन्नु हुन्छ–‘यो परम्पराको थालनी आजैदेखि गरिएको छ । अब कलाकार संघका कुनै पनि सदस्यहरुले एक्लो महसुस गर्न पर्ने छैन, चाहे बिमारी पर्दा होस् अथवा कुनै समस्या पर्दा होस्, चाहे खुशीकै सुअवसर होस्, आफ्नो परिवारका लागि अभिभावकत्व अथवा संरक्षकत्व ग्रहण गर्न पछि पर्ने छैन ।’
नेपाल चलचित्र कलाकार संघको आयोजनामा सम्पन्न जन्मोत्सव समारोहको विशेष व्यवस्थापन टौखेल, गोदावरीस्थित आशा नेपाल (होप नेपाल) की सञ्चालिका बिमला थापाले गर्नु भएको हो ।

अभिनेता विश्व बस्नेत पछिल्लो एक वर्षदेखि त्यहि संस्थामा बसोबास गरिरहनु भएको छ । चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा सञ्चालित उक्त कार्यक्रममा कलाकारहरु मदनदास श्रेष्ठ, पुरन जोशी, कृष्ण मल्ल, शिव श्रेष्ठ, जय श्रेष्ठ, मदुकुमार श्रेष्ठ, नारायण प्रधान, राज घिमिरे, उद्ववराज भट्टराई, पवित्रा आचार्य आदिले अभिनेता विश्व बस्नेतलाई सुस्वास्थ्य तथा दिर्घायुको कामनासहित जन्मदिनको शुभकामना व्यक्त गर्नु भयो ।

समारोहमा कलाकार विश्व बस्नेतले जन्मदिनको केक काट्दै ७५ वर्षको उमेरमा चौथो पटक यसरी धुमधामका साथ जन्मदिन मनाएको स्मरण गर्नु भयो । ‘कलाकार संघले आजको यो अवसर जुराइदिएकोमा अध्यक्ष रविन्द्र खड्कासहित सम्पूर्ण पदाधिकारीहरुप्रति कृतज्ञ छु, अभिनेता बस्नेतले होम नेपालकी सञ्चालिकालाई पनि हार्दिक धन्यवाद दिएका छन् । मुम्बईबाटै अभिनय यात्रा प्रारम्भ गर्नु भएका विश्व बस्नेतले दर्जनौं नेपाली फिल्महरुमा अभिनय गर्नु भएको छ । उहाँ पछिल्लो दुई वर्षदेखि स्वास्थ्य सम्बन्धि अनुसन्धानमा समेत सक्रिय हुनुहुन्छ भने निकट भविष्यमै आफ्नै लेखनको पुस्तक समेत सार्वजनिक गर्दै हुनुहुन्छ ।

Comments


© copyright 2026 & All right reserved to faan