विशिष्ट अभिनेता सुनील थापाको हृदयाघातबाट निधन, संघद्धारा श्रद्धाञ्जलि अपर्ण गरियो

  • February 13, 2026

नेपाल चलचित्र कलाकार संघका सदस्य तथा विशिष्ट कलाकार सुनील थापाको मिति २०८२ माघ २३ गते काठमाडौँस्थित नर्भिक अस्पतालमा हृदयाघातका कारण निधन भएको छ। ६५ वर्षका थापा मध्यपश्चिमाञ्चलको दाङमा जन्मनु भएको थियो। उहाँ काठमाडौँको शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएको थियो। परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।

लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थापा नेपाली चलचित्रमा स्थापित हुनुअघि नै बलिउडमा आफ्नो पहिचान बनाइसक्नुभएको थियो। मुम्बईमा रहेर मोडलिङबाट करियर सुरु गर्नुभएका थापा कुशल फुटबल खेलाडी तथा फोटो पत्रकारसमेत हुनुहुन्थ्यो। वि.सं. २०३८ सालमा बलिउड चलचित्र ‘एक दुजे के लिए’बाट फिल्मी करियर सुरु गर्नुभएका उहाँले पहिलो चलचित्रबाटै दर्शक र निर्माता–निर्देशकहरूको मन जित्न सफल हुनुभयो। त्यसपछि ‘आज की आवाज’, ‘मानव हत्या’, ‘मनु द ग्रेट’, ‘अलबेला’, ‘नसिबवाला’ जस्ता हिन्दी चलचित्रमा अभिनय गर्दै लोकप्रियता कमाउनुभयो। पछिल्लो समय चलचित्र ‘मेरी कोम’मा निर्वाह गरेको भूमिकाले नयाँ पुस्तामाझ समेत उहाँलाई जीवन्त बनाएको थियो।

हिन्दी चलचित्र क्षेत्रमा सक्रिय रहँदै उहाँ पहिलो पटक नेपाली चलचित्र ‘मशाल’मा देखिनुभएको थियो। तर वि.सं. २०४६ सालमा तुलसी घिमिरे निर्देशित चलचित्र ‘चिनो’बाट ‘राते काइँला’को भूमिकामार्फत उहाँ नेपाली दर्शकमाझ अत्यन्त लोकप्रिय हुनुभयो। ‘राते काइँलालाई यो कुरा मन परेन’ भन्ने संवाद आज पनि दर्शकहरूले सम्झने गर्छन्। उहाँले नेपाली र भारतीय चलचित्रबाहेक भोजपुरी, तेलुगु, बंगाली र तमिल भाषाका चलचित्रमा पनि अभिनय गर्नुभएको थियो। विभिन्न भाषाका गरी करिब डेढ सय चलचित्र, सिरियल र वेब सिरिजमा उहाँको अभिनय रहेको छ।

थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। त्यसैगरी चलचित्र विकास बोर्ड, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र पत्रकार संघ, नेपाल चलचित्र निर्देशक समाजलगायत विभिन्न संघ–संस्थाले पनि श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

नेपाल चलचित्र कलाकार संघका सम्पूर्ण पदाधिकारी, सदस्य तथा समस्त कलाकारहरूको तर्फबाट विशिष्ट कलाकार सुनील थापाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएको छ। साथै शोकसन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।

तस्वीरका लागी चलचित्र विकास बोर्डको Facebook Page मा गएर हेर्न सक्नुहुनेछ ।

Please Click FDB Facebook Page

Comments


© copyright 2026 & All right reserved to faan