नेपाल चलचित्र कलाकारले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘कलाकार र आम सञ्चार’ विषयको विचार गोष्ठिका वक्ताहरुले नेपाली कलाकार तथा आम सञ्चारको सम्बन्धका विषयमा छलफल गरेका छन् । चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित यो समारोह चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।
नेपाली चलचित्र क्षेत्रका झण्डै साढे दुई सय बढी चिरपरिचित अनुहारहरुको उपस्थितिमा आयोजित विचार गोष्ठिमा वरिष्ठ फिल्म निर्देशक तथा प्राध्यापक राजेन्द्र सभल, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी तथा पत्रकार कृष्ण भट्टराईले कलाकार तथा आम सञ्चार विषयमा केन्द्रित रहेर आफ्ना विचारहरु व्यक्त गरेका थिए ।
समारोहमा कलाकार र आचार संहिता विषयमा आफ्ना विचार व्यक्त गर्दै निर्देशक राजेन्द्र सलभले कलाकारिता क्षेत्रमा आवद्ध हरेक कलाकारहरुले चलचित्र कलाकार संघ तथा चलचित्र विकास बोर्डले जारी गरेका आचार संहिताहरु पालना गर्नु पर्ने धारणा व्यक्त गरे । निर्देशक सलभले कलाकारहरुले आचार संहितालाई पालना नगर्दा हुन सक्ने सम्भावित जोखिमका बारेमा समेत प्रस्ट्याएका थिए ।
पत्रकार जीवन पराजुली तथा शान्तिप्रियद्वारा सहजीकरण गरिएको यो समारोहमा ‘कलाकार तथा आम सञ्चार विषय’ मा आफ्ना विचार व्यक्त गर्दै कलाकर्मीका प्रधान सम्पादक तथा पत्रकार कृष्ण भट्टराईले कलाकारहरुलाई सञ्चारकर्मीले समाचारको स्रोतको रुपमा उपयोग गरिरहने भएकाले सामाजिक सञ्जालमा सामग्री पोष्ट गर्दा सजग, चनाखो तथा समेत हुनु पर्ने धारणा व्यक्त गरे । पत्रकार भट्टराईले कलाकार र तथा सञ्चारकर्मीबीच नङ र मासुका जस्तो सम्बन्ध हुने भए पनि कलाकारले पत्रकारलाई अथवा पत्रकारले कलाकारलाई आफ्नो घनिष्ट साथी बनाउन नहुने धारणा व्यक्त गरे । सामाजिक सञ्जाल नै पछिल्लो समय समाचारको स्रोत बनिरहेको अवस्थामा हरेक कलाकारहरुले आफ्ना विशेष गतिविधि तथा उपलब्धिहरुलाई मात्र सञ्जालमार्फत सार्वजनिक गर्दै कलाकारको गरिमा कायम रहने पत्रकार भट्टराईको तर्क थियो ।
सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले कलाकारहरु पत्रकारले सोधेका हरेक प्रश्नको जवाफ दिन बाध्य हुनु नपर्ने धारणा व्यक्त गरे । ‘कलाकारहरु आफूलाई जानकारी नै नभएको विषयमा पनि सबै कुरा जानेको झैँ गरि अन्तर्वार्तामा प्रस्तुत भैरहेको देखिन्छ, निर्देशक डिसीको भनाइ थियो– ‘यदि तपाईंलाई कुनै कुराको ज्ञान छैन अथवा तपाईं कुनै प्रश्नको जवाफ दिन अनिच्छुक हुनुहुन्छ भने म यो प्रश्नको जवाफ दिन सक्दिन, कृपया अर्को प्रश्न सोध्नुहोस् भन्न सक्नु पर्छ ।’
सञ्चारकर्मीसमेत रहेका डिसीले आफ्नो कार्यक्रमको टिआरी तथा भ्यूज बढाउन केही सञ्चारकर्मीहरुले कलाकारलाई र्याख–र्याख्ति पार्ने परिपार्टिको समेत आलोचना गरे । ‘मेरो भुवन केसी र शिव श्रेष्ठ दुबै जना उत्तिकै प्रिय छन्, उहाँहरु दुई जनामध्ये एक जनालाई मात्रै मैले किन छान्ने रु’ डिसीको भनाइ थियो– ‘दुई जनामध्ये एक जना छानेर सम्बन्धि कार्यक्रमले भ्यूजमात्र बढाउँछ, बाँकी कसैलाई यसले फाइदा गर्दैन ।’
सामुहिक राष्ट्रिय गानबाट प्रारम्भ भएको समारोहमा वरिष्ठ अभिनेत्री भुवन चन्द, वसुन्धरा भुसाल तथा चैत्यदेविले कलाकार संघद्वारा प्रकाशित २०८१ सालको क्यालेन्डर विमोचन गरिएको थियो । समारोहका सभापति तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले उपस्थित कलाकारहरुलाई स्वागत गर्दै विचार गोष्टिको औचित्यका बारेमा धारणा व्यक्त गरेका थिए ।
‘हाम्रा कलाकार साथीहरुलाई सञ्चार माध्यममा कसरी प्रस्तुत हुने, कस्तो हाउभाउमा प्रस्तुत हुने र कसरी अनुशासिन बन्ने भन्ने विषयमा छलफल गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको हो, अध्यक्ष निरौलाले नेपालमा सम्भवतः पहिलो पटक यो शैलीको कार्यक्रम आयोजना गरिएकाले सहभागि कलाकारहरुलाई यसले फाइदा पुर्याउने धारणा व्यक्त गरे ।
कलाकार संघको ‘कलाकार र आम सञ्चार’ विचार गोष्ठि कार्यक्रम भब्य रुपमा सम्पन्न VIDEO

