काठमाडौं – गत शुक्रवार राति जाजरकोटमा गएको भूकम्पले जाजरकोट र रुकुममा ठूलो धनजनको क्षति पुर्याएको छ । भूकम्प प्रभावितहरुको राहत एवं उद्धारका लागि अहिले सबै नेपाली जुटिरहेको अवस्था छ ।
सबैले आ–आफ्नो तह र तप्काबाट सहयोग गरिरहेको बेला नेपाल चलचित्र कलाकार संघले पनि आफ्नोतर्फबाट प्रभावितहरुलाई आर्थिक सहयोग गरेको छ । कलाकार संघको तर्फबाट २५ हजार रुपैयाँ तथा संघका कार्य समितिका पदाधिकारी तथा सदस्य कलाकारहरुले व्यक्तिगत रूपबाट सहयोग गरेका छन् ।
कलाकार संघले जारी गरेको विज्ञप्ति अनुसार नम्रता खरेलले एक हजार, उद्धव भट्टराईले एक हजार, पुकार भट्टराईले एक हजार पाँच, पवन केसीले एक हजार पाँच, मोहन निरौला ११ सय, सबिन श्रेष्ठले ११ सय, रामेश्वर बुर्लाकोटीले एक हजार ५१, जयन्त रेग्मीले एक हजार १०, शिवहरी बैरागीले १ हजार ४४५, खुश्वु खड्काले २ हजार १०, रविन्द्र खड्काले एक हजार, रोशन श्रेष्ठ एक हजार, सुनिल कटुवालले ११ सय रुपैयाँ रकम गरी जम्मा ३९ हजार ८३१ रूपैयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष राष्ट्रिय वाणिज्य बैंक लि. खाता नं. ११३०१००००३७६२००१ मा जम्मा गरिएको छ ।
संंघका अध्रयक्ष मोहन निरौलाद्वारा विज्ञप्तिमा भनिएको छ – ‘कम सानो भएता पनि एक आपसको सद्भाव र भाइचारा र मानवतालाई शिरमा राखी कर्तव्य र धर्म निर्वाह गरी मलहम् लगाउने सानो प्रयास गरेका छौँ । थोपा-थोपा मिलेर पोखरी हुन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ ।’
‘भुकम्पमा परि दुःखद निधन भइ दिवंगत हुनु भएका सबै प्रति भावपूर्ण श्रद्धाञ्जली अपूर्ण गर्दछौँ र परिवाजनमा हार्दिक सभवेदना प्रकट गर्दै घाइतेहरुको सिघ्रस्वास्थ्य लाभको कामना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।