काठमाडौं – नेपाल चलचित्र संघका अध्यक्ष मोहन निरौलाले नेपाली चलचित्रको गुणस्तर बढाउने विषयमा कलाकारहरुले गम्भिर भएर सोच्नुपर्ने बेला आएको बताएका छन् ।
नेपाल चलचित्र कलाकार संघ स्थापना भएको ३५ वर्ष पुगेको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा निरौलाले गुणस्तरीय चलचित्र आउन नसकेको बजारको भनाइलाई स्विकार गर्दै सुधारका लागि सबै पक्ष गम्भिर बन्नुपर्ने बताएका हुन् । कार्यक्रममा यता चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालको चलचित्र उद्योग सन्तोषजनक अवस्थामा रहेको धारणा राखेका थिए ।
संघले स्थापना कालदेखि नै कलाकारका हक हितका लागि आवाज उठाउँदै आएपनि पछिल्लो समय बढी राजनीति भएको भन्दै कलाकारहरुले दुःखेसो पोखेका छन् ।
सहभागीहरुले पछिल्लो समय चलचित्रकर्मीहरुमा एकरुपता कायम हुन नसक्दा चलत्रित्र जगतको समस्या बढ्दै गएको भन्दै सबैलाई एक हुन आव्हान गरेका थिए ।
नेपाल चलचित्र कलाकार सङ्घको ३५औँ स्थापना दिवसका अवसरमा शनिवार पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । विसं २०४५ भदौ २३ गते स्थापना भएको सङ्घले शनिवार तथा आइतवार दुई दिन विभिन्न कार्यक्रमहरू आयोजना गरी स्थापना दिवस मनाईरहेको छ ।
शनिवार सम्पन्न पहिलो दिनको कार्यक्रममा सम्मान, मानार्थ सदस्यता प्रदान, शुभकामना मन्तव्य, अवधारणापत्र प्रस्तुति तथा त्यसमाथि टिप्पणी कार्यक्रमको आयोजना भएको छ ।
आइतवार हुने दोश्रो दिनको कार्यक्रममा योगगुरु राम पाण्डेद्वारा योग अभ्यास, डा. विकासानन्दद्वारा मोटिभेसन लेक्चर र डा. श्याम खड्काद्वारा चिकित्सकिय परामर्श हुनेछ ।
शनिवारको कार्यक्रम चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा सङ्घकी संरक्षक बसुन्धरा भुषाल, सङ्घका पूर्वअध्यक्ष तथा सल्लाहकारहरू कृष्ण मल्ल, रमेश बुढाथोकीको उपस्थिति थियो भने सल्लाहकार राजकुमार राई तथा सङ्घका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, कानूनी सल्लाहकार कृष्ण ढुङ्गाना, कलाकार सन्तोष पन्त, अभिनेत्री चैत्यदेवि सिंह, निर्देशकद्वय आकाश अधिकारी र नरेश पौडेल, कलाकार आरपि पन्त, तैय्यव शाह, मुकुन्द किशोर भट्टराई लगायत नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संविधानविद् भिमार्जुन आचार्य, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यञ्जु श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, दन्त चिकित्सक डा. सुवास घिमिरे, खेलकुदकर्मी बिष्णु गोपाल श्रेष्ठलाई सङ्घको मानार्थ सदस्यताको परिचयपत्र प्रदान गरिएको थियो ।
त्यस्तै, सङ्घलाई आर्थिक तथा भौतिक सहयोग गर्ने ध्रुव देवकोटा, मनोज खत्री, राजीव गिरी, डा।रुपक घिमिरे, प्रकाश पुरी र श्रीदेव बिएललाई आभारपत्र प्रदान गरिएको थियो भने अन्तराष्ट्रिय नेपाल साहित्य समाज नेपाल च्याप्टरको अध्यक्ष चयन भएकोमा चलचित्रकर्मी तथा साहित्यकार राजेन्द्र केसीलाई बधाई पत्र प्रदान गरिएको थियो ।
सङ्घद्वारा तयार पारिएको ‘नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भूमिका’ विषयक अवधारणापत्र सङ्घका प्रेस सल्लाहकार शान्तिप्रियले प्रस्तुत गरेका थिए भने उक्त अवधारणापत्रमाथि चलचित्र कलाकार तथा निर्माता रबिन्द्र सिंह बानियाँ, चलचित्र लेखक अभिमन्यु निरवी र चलचित्र निर्देशक तथा सञ्चारकर्मी सङ्गीता श्रेष्ठले टीप्पणी गरेका थिए ।
