काठमाडौं– बरिष्ठ कलाकार सानु ताम्राकारको शनिवार दिउँसो निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत ताम्राकारको अहिले दिउँसो ३ः२० बजे निधन भएको हो ।
मृगौला रोगबाट पीडित उनी केही महिनाअघि छोरा अभिनेता सारुक ताम्राकारको निधन भएदेखि नै गम्भीर अस्वस्थ भएका थिए । उनको त्यही बेलादेखि नर्भिक अस्पतालमा उपचार भैरहेको थियो । अस्पताल स्रोतका अनुसार उनको शरीरमा सोडियम लेभल कम देखिएको थियो ।
बोल्न नसक्ने अवस्थामा नर्भिक अस्पतालको आइसियुमा भर्ना भएका सानु ताम्राकारको उपचारकै क्रममा निधन भएको हो । थुप्रै फिल्म, टेलिफिल्म तथा नाटकहरुमा अभिनय गरेका कलाकार ताम्राकार चलचित्र कलाकार संघका पूर्व कार्यवाहक अध्यक्षसमेत रहिसकेका थिए । वरिष्ठ कलाकार ताम्राकार कुशल नृत्य गुरुसमेत थिए भने उनी नेपाल फिल्म सोसाईटीका कार्यकारी सदस्यसमेत थिए ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार दिवंगत ताम्राकारको आइतबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । त्यसअघि आइतबार बिहान ताम्राकारलाई आर्यघाटमै अन्तिम श्रद्धाञ्जली दिइने छ ।