‘गोपाल राउत स्मृति अक्षयकोष’ स्थापना तथा कलाकार संघ भवन निर्माणार्थ सहयोग

  • August 20, 2020

काठमाडौं– अमेरिकामा दिवंगत भएका कलाकार गोपाल राउतको स्मृतिमा नेपाल चलचित्र कलाकार संघले गोपाल स्मृति पुरस्कार स्थापना गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित शान्तारोजा नेपाली समुहद्वारा कलाकार स्व. गोपाल राउतको नामबाट त्यहींकै समाजसेवीहरु देवेन श्रेष्ठ (मास्के), नारायण शोम्नामे, डेकेन्द्र मास्के, पुर्ण चन्द्र बानियाँ देव किरात राई, रवि सिंह बस्नेत, राजेन्द्र श्रेष्ठ आदिको सक्रियतामा संकलित रकमबाट कलाकार राउतको अन्न्त्येष्टी, काजकिरिया आदिमा खर्च गरि बाँकी रहेको रकम २ लाख ५१ हजार १ सय ८ रुपैयाँ सान्तारोजा नेपाली समूहले चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का हस्तान्तरण गरेको छ ।

कलाकार संघका अध्यक्ष खड्काद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ- ‘उक्त रकम स्व.गोपाल राउतकै नाममा अक्षय कोष स्थापना गर्ने तथा कलाकार संघको साधारण सभामा प्रत्येक वर्ष चलचित्र क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने कलाकारलाई ‘गोपाल स्मृति पुरस्कार’ प्रदान गरिने छ ।’

बाँकी ५१ हजार रुपैयाँ चलचित्र कलाकार संघको भवन निर्माणका लागि पठाइएकोमा संघको केन्द्रिय कार्यसमितिको तर्फबाट संघका अध्यक्ष खड्काले सम्पूर्ण सान्तारोजा नेपाली समूहप्रती हार्दिक आभार प्रकट गरेका छन् ।

अध्यक्ष खड्काका अनुसार गोपाल राउत स्मृति कोषमा उनकी धर्मपत्नी बुनु शर्मा राउत संरक्षक तथा उनकी सासू लक्ष्मी शर्मा सल्लाहकारको रुपमा राखिएको छ । कोषको रकम हाललाई कलाकार संघकै खातामा राखिएको छ ।

बुधवार संघकै कार्यालयमा आयोजित एउटा संक्षिप्त कार्यक्रममा स्व.राउतकी सासू नेपालकै पहिलो महिला टेम्पू चालक तथा समाजसेवी लक्ष्मी शर्माले कलाकार संघका उदाहरणीय कार्यको प्रशंसा तथा स्व।राउतप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दै दुई लाख रुपैयाँको अक्षय कोषमा आफ्नो व्यक्तिगत तर्फबाट थप एक लाख रुपैयाँ थपिदिने घोषणा गर्नुका साथै संघको भवन निर्माणका लागि समेत महत्वपूर्ण साथ र समर्थन रहने घोषणा गरेकी छिन् ।

उक्त कार्यक्रममा संघका अध्यक्ष खड्का, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, सदस्यहरु उद्धव भट्टराई, रामेश्वर बुर्लाकोटी आदिको उपस्थिति थियो । बुधवारको रकम हस्तान्तरण कार्यक्रमको संयोजन निर्देशक समाजकी निवर्तमान अध्यक्ष सुचित्रा श्रेष्ठबाट भएको थियो ।

संघका अध्यक्ष, उपाधक्ष्य तथा सदस्यहरुले संघको तर्फबाट दिवंगत कलाकार स्व.गोपाल राउतको परिवारले गरेको यो सहयोगलाई उदाहरणीय कार्य भन्दै स्व.राउतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Comments


© copyright 2026 & All right reserved to faan