कलाकार संघ द्वारा अभिनेत्री चरित्रहत्या प्रकरणको प्रहरीमा मुद्दा दर्ता

  • May 26, 2020

काठमाडौं- नेपाल चलचित्र कलाकार संघले केही नेपाली अभिनेत्रीहरुको चरित्र हत्या गर्ने मनशायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै कारबाहीको लागि प्रहरीमा उजुरी दिएको छ । संघका अध्यक्ष रविन्द्र खड्कासहितको टोलीले आज महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर उजुरी दर्ता गराएको हो ।

आईतबार तथा सोमबार दुई जना अभिनेत्रीहरुका नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक गरिएको छ भने अन्य अभिनेत्रीहरूको समेत त्यस्तै नक्कली भिडियो सार्वजनिक गर्ने धम्की समेत दिइएको छ । यो घटनाले समाजमा राम्रो छवि भएका नेपाली अभिनेत्रीहरू मानसिक रूपले विक्षिप्त भएका छन् ।

संघका अध्यक्ष खड्काले वुझाएको उजुरी पत्रमा भनिएको छ–‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारहरुको नक्कली अश्लिल भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ । कलाकारहरुको बारेमा भ्रम श्रृजना गरी चरित्र हत्या गर्ने दुस्प्रयास भएकाले यथाशिघ्र यसको छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दछौ ।’ प्रहरीले यस बिषयमा तत्काल छानविन गर्ने बताएको संघका खड्काले जानकारी दिएका छन् ।

त्यसअघि हिजो कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एउटा प्रेस वक्तव्य जारी गर्दै भनेका छन् – ‘केही दिन यता प्रविधिको माध्यमबाट कलाकारहरूको मानमर्दन हुने गरि अतिरन्जित सामाग्रिहरू सामाजिक संन्जालमा देखिन आएकाले नेपाल चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको छ । प्रबिधीको ग़लत प्रयोग गरी बनाईएका यस्ता दुष्प्रचार प्रति भ्रममा नपर्न हामी सबैसग अनुरोध गर्दछौ । यस्तो असामाजिक एवं निन्दनीय अपराधिक कार्यको घोर निन्दा गर्दै यस्ता कार्य गर्नेलाई कानुनी कार्बाही मात्र हैन सामाजिक बहिष्कार गर्न पनि हामी सबैसग अनुरोध गर्दछौ। संघ सदैब चलचित्र क्षेत्रको सबै बिधाका पेशाकर्मी र कलाकारहरूको साथमा छ । यस्तो अपराधिक कार्यको बिरूद्धमा एक्लाएक्लै होईन सामुहिक,संगठित र संस्थागत रूपमा लड़ने प्रतिबद्धता जनाउदै यो अपराधिक कार्यको बिरूद्धमा कानुनी कार्बाहीका लागी संघले पहल गरिसकेको पनि जानकारी गराउन चाहन्छौ । सम्बन्धित निकायले यस प्रकारको असामाजिक कार्यको पटाक्षेप गर्दै दोषीलाई कड़ा भन्दा कड़ा कार्बाही गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

Comments


© copyright 2026 & All right reserved to faan