चितवन – नेपाल चलचित्र कलाकार संघद्धारा स्कुटर दुर्घटनामा परेर निधन भएकी स्वर्गीय अभिनेत्री महिमा सिलवालको परिवारलाई रु, ५१ हजार आर्थिक सहयोग गरेको छ । नेपाल चलचित्र कलाकार संघको युके च्याप्टर अध्यक्ष रोमियन लिम्बु केसीबाट संकलित रु २६ हजार र चलचित्र बिकाश बोर्ड मातहतको कलाकार बसुन्धरा भुसाल संयोजक रहेको कलाकार कल्याणकारी कोषबाट रु. २५,०००० गरि जम्मा रु. ५१हजार संघका अध्यक्ष् रवीन्द्र खडकाको नेतृत्वमा चितवन गएको टोलीले स्व. महिमाको परिबारलाई हस्तान्तरण गर्यो । संघको टोलीले भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित घरमा पुगेर उनको बुबालाई रकम हस्तारन्तण गरेको थियो । टोलीमा संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौला , महासचिव चेतबहाद्र सिंह “राजा” र केन्द्रीय सदस्य रामेश्वर बुर्लाकोटी टोलीले परिवार प्रति समवेदना प्रकट गरेका थिए । समवेदना प्रकट गर्दै अध्यक्ष खड्काले महिमाको निधनले चलचित्र क्षेत्रलाई अपुरणीय क्षती भएको बताए ।
महिमाले चलचित्र क्षेत्रलाई गरेको योगदानको स्मरण गर्दे खड्काले उनको प्रतिभाको कदर गरे । सो क्रममा बोल्दै संघका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाले यो सानो सहयोगले परिवारलाई केही राहत पुग्ने बताउंँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सहयोग हस्तारणपछि संघले भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई भेटेको थियो । भेटघाट कार्यक्रममा बोल्दै संघका महासचिव चेत बहादुर सिंहले महिमाको परिवारलाई आर्थिक सहयोग गरिदिन आग्रह गरेका थिए । संघको आग्रहलाई स्वीकार्दे दाहालले आर्थिक सहयोग गर्ने वचनबद्धता गरेकी छिन । स्वर्गीय महिमाले बिभिन्न म्युजिक भिडियोसँगै एक दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन । चलचित्र कारवाही चलचित्र मार्फत सिने क्षेत्रमा अभिनय यात्रा शुरु गरेकी महिमाको प्रदर्शन हुन बांँकी केही चलचित्र समेत रहेका छन । उनको माघ २९ गते काठमाडौंबाट चितवन आउने क्रममा धादिङ्गमा बसले उनको स्कुटरलाई दिदा उनकी बहिनी शर्मिला सहित उनको निधन भएको हो ।